मुलुकको समृद्धिका लागि कृषि आधारस्तम्भ, पर्यटन र जलस्रोत मेरुदण्ड हुन्: माधवकुमार नेपाल

लाल्टिन खबर ,
प्रकाशित: २०७६ पुस १९, शनिबार  
मुलुकको समृद्धिका लागि कृषि आधारस्तम्भ, पर्यटन र जलस्रोत मेरुदण्ड हुन्: माधवकुमार नेपाल

नेकपाका नेता माधवकुमार नेपालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पर्यटन र जलस्रोत मेरुदण्ड भएको बताएका छन्।

भ्रमण वर्ष–२०२० का अवसरमा शनिबार कञ्चनपुरको बेदकोट नगरपालिकाले पर्यटकीयस्थल बेदकोट ताल क्षेत्रमा आयोजना गरेको अनुभव आदानप्रदान कार्यक्रममा उनले भने, ‘मुलुकको विकास र समृद्धिका लागि कृषि आधारस्तम्भको रुपमा रहेको, पर्यटन र जलस्रोत मेरुदण्डका रुपमा रहेका छन् ।’  

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पर्यटन प्रवद्र्धनका लागि यस सरकारले पहिले काम गर्दै आएको उल्लेख गर्दै पर्यटकीय हिसाबले विशाल सम्भावना रहेको नेपालमा त्यसको गहन अध्ययन र खोजी सरकारी तबरबाट हुनु पर्ने बताए। 

नेता नेपालले वर्तमान सरकारले भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने उद्देश्य रहेको बताउँदै पर्यटकलाई आकर्षित गर्ने विषयमा पनि हामी जानकार हुनुपर्ने बताए।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले सुदूरपश्चिम जलस्रोत, पर्यटनको अथाह सम्भावना भएको प्रदेश भए पनि विकासको मूलधारमा आउन नसकेको बताए।

‘दोधारा चादँनीको सुख्खा बन्दरगाहदेखि पश्चिम सेती परियोजनाजस्ता यहाँका राष्ट्रिय गौरवका आयोजना अलपत्र छन्,’ उनले भने, ‘अब प्रदेशको विकासका लागि सबै एकजुट हुनुपर्ने बेला आएको छ।’

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले पनि सुदूरपश्चिममा पर्यटकलाई आकर्षित गर्न गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार