चिल्लो बन्न थाल्यो पोखराका सडक

लाल्टिन खबर ,
प्रकाशित: २०७७ कात्तिक १, शनिबार  
चिल्लो बन्न थाल्यो पोखराका सडक

काठमाडौँ । पोखरा नगरपालिकाभित्रका सडक चिल्लो बन्न थालेको छ ।  करिब ३ वर्ष पहिले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले चुनावी एजेन्डामा राखेको प्रतिबद्धता पुरा नभएपछि अमेरिकी प्रविधिमा आधारित ‘अस्फाल्ट कंक्रिट’ गर्न थालिएको हो ।

सडकका खाल्डा पुर्न नसकेको भनेर आलोचित बनेका मेयर जिसीले यो प्रविधिमा आधारित रहेर पोखराका २७ किलोमिटर सडक कालोपत्र गर्ने बताए। पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक कौशल जिसीले कालोपत्रे गर्दा नै गुणस्तरीय सामग्री प्रयोग नहुनु, पानी जम्नु मुख्य समस्या भएको बताउँछन्। अस्फाल्ट प्रविधिमा कालोपत्रे गर्दा केही ठाउँमा भइरहेका पिच भत्काउने र केही ठाउँमा पिचमाथि नै कालोपत्र गरिने मेयर जिसीले बताए।

अस्फाल्ट पिच गर्नका लागि २७ किलोमिटर सडकमध्ये महानगरले १२ किलोमिटर सडकको लागत २० करोड रुपैयाँ मूल्याङ्कन गरेको थियो। तर १७ करोडमा ठेक्का सम्झौता भएर मंगलबारदेखि पोखराको न्युरोडमा काम थालेको मेयर जिसीले बताए। उनका अनुसार महानगर, प्रदेश र सडक विभागले पनि पोखराका सडक यही प्रविधिमा कालोपत्र गर्दैछन्।

जसअनुसार पोखराको न्युरोड, महेन्द्रपुल हुँदै हस्पिटल चोकदेखि अमरसिँह चोक, सिद्धार्थ चोकदेखि बिपी चोक, महेन्द्रपुल हुँदै केआइसिँह पुल र केआइसिँह पुलदेखि महेन्द्रगुफा सम्मको सडक महानगरले जिम्मा लिएको छ। यस्तै, गण्डकी प्रदेश सरकारले पृथ्वी चोकदेखि जिरो किलोमिटर, हलन चोक, बाराही चोक, शहिद चोक हुँदै मुस्ताङ चोक सम्मको जिम्मा लिएको छ भने सडक विभागले राष्ट्र बैंक चोकदेखि नयाँ बजार हुँदै महेन्द्र पुल सम्मको जिम्मा लिएको छ। 

अस्फाल्ट प्रविधि सडक बलियो बनाउने अहिले सम्मको राम्रो प्रविधि भएको पोखरा महानगरका वरिष्ठ इञ्जिनियर शारदामोहन काफ्लेले बताए। यता, सडक विभागले पनि पछिल्लो समय देशभरका सडकलाई यही प्रविधिमा लैजाने नीतिगत निर्णय गरेको छ।  विभागले दैनिक ३ सयभन्दा बढी सवारी साधन गुड्ने सडक अस्फाल्ट प्रविधिमा बनाउन भनेको इञ्जिनियर काफ्लेले बताए।

पोखराका ७० किलोमिटर भित्री सडक ढलान भइसकेको वरिष्ठ इञ्जिनियर काफ्लेले बताए। ‘ढलानलाई पानीले धेरै असर गर्दैन’, उनले भने, ‘मर्मत गर्न पनि पिचमा भन्दा सजिलो हुन्छ।’ पोखराका सहरी सडक पहिलो पटक कालोपत्रे गर्ने, ढल निकास र ल्याण्डफिल्ड साइट बनाउन झण्डै ६० करोड लागतमा बनाइएको थियो।

एसियाली विकास बैंकको ऋण सहायतामा २०५४ सालमा सुरू भएको आयोजना धेरै विवादका बाबजुद २०६१ सालमा मात्र सकिएको थियो। त्यसपछि सडक टालटुलमै सीमित थियो भने एडिबीले बनाइदिएपश्चात पोखराको ढल व्यवस्थापनको योजना बनेको छैन। एडिबीको योजना अनुसार पोखरामा ५० किलोमिटर ढल व्यवस्थापन गर्दा सेती नदी, फेवाताल, सिँचाइका नहर, काँहुखोला, बुलौंदीखोला, विजयपुर खोला लगायतका स्थानमा लगेर ढल विर्सजन हुन्छ।

अस्फाल्ट प्रविधिमा सडक कालोपत्र गर्न थालिए पनि ढल निकासी भने पुरानै रहने महानगरका प्राविधिकहरूले बताएका छन्। अहिले भइरहेको ढलले वर्षाको पानी धान्न नसक्नुको कारण सहरमा धेरै घर तथा भवन बन्नु रहेको वरिष्ठ इञ्जिनियर काफ्लेले बताए। ‘२०५४ सालमा पोखरामा घर र भवनहरू यति छिटो बढ्लान् भनेर कल्पना नै गरिएको थिएन’, उनले भने, ‘घरहरूले जमिन भरिएपछि वर्षाको पानी सडकमा आएर बगे।’

२३ वर्षअघि पोखराको नाली बनाउँदा केही ठाउँमा २ मिटर र अन्यत्र १ मिटरको मात्र बनाइएको उनले बताए । सडक अस्फाल्ट प्रविधिमा भए पनि ढल पुरानै हुँदा वर्षाको पानीले असर गर्न सक्ने प्राविधिकहरूले बताएका छन्। तर मेयर जिसी भने ढल निकासको गुरूयोजना बनाउन लागेको बताए। 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार