एक दिनका लागि प्रधानमन्त्री बनेकी १६ बर्षिया एभाले के–के काम गरिन् ?

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असाेज २३, शुक्रबार  
एक दिनका लागि प्रधानमन्त्री बनेकी १६ बर्षिया एभाले के–के काम गरिन् ?

एजेन्सी । एक दिनका लागि प्रधानमन्त्री बनेकी १६ बर्षिया युवती एभा मुर्तोको चर्चा विश्वभर भइरहेको छ । उनी १ दिनका लागि फिनल्याण्डको प्रधानमन्त्री बनेकी थिइन् ।

लैङ्गिक समानताको सूचीमा माथिल्लो स्थानमा रहेको फिनल्यान्डले संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय युवती दिवसको अवसरमा एभालाई १ दिनका लागि प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो ।

यो राष्ट्रसंघको विश्वव्यापी अभियानको एउटा भाग भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लैङ्गिक भिन्नता अन्त्यको निम्ति लड्न थप कदम चाल्दै एक दिनका लागि १६ वर्षीया किशोरीलाई कुर्सी हस्तान्तरण गरेकी हुन् ।

रोचक पक्ष त के छ भने सन्ना पदमा हुँदै आमा बन्ने फिनल्यान्डकी दोस्री प्रधानमन्त्री हुन् । यत्तिमात्र होइन उनी विश्वकै कम उमेरकी प्रधानमन्त्रीसमेत हुन् । उनैले एक दिनका लागि किशोरीलाई कुर्सी हस्तान्तरण गरेकी हुन् ।

गत वर्ष ३४ वर्षको उमेरमा उनले प्रधानमन्त्री पदको शपथ लिएकी थिइन् । उनी फिनल्यान्डकी तेस्रो महिला प्रधानमन्त्री हुन्। हाम्रो लागि रमाइलो त के छ भने फिनल्यान्डमा सबै दलको नेतृत्व महिलाले गरेका छन् । त्यत्तिमात्र होइन सन्नाको मन्त्रिमण्डलमा तीन जना ३५ वर्षभन्दा कम उमेरका सदस्य छन्।

बुधबार एक दिन प्रधानमन्त्री बनेकी एभा मुर्तोले दिनभर राजनीतिक बैठकको कार्यतालिकामा बिताइन् । प्रधानमन्त्रीको रुपमा सम्बोधन गर्दै मुर्तोले गल्र्स टेकओभर जस्ता अभियानको खाँचो पर्नु नहुनेतर्फ जोड दिइन् ।

सबैका अगाडि बोल्न पाउनु खुशीको कुरा भए पनि यस्ता कार्यक्रमको विश्वभर आवश्यकतै हुनु नहुने उनको भनाइ छ । एक दिने प्रधानमन्त्री बनेकी किशोरी मानवअधिकार र जलवायुसम्बन्धी अभियानमा सक्रिय छन् ।

बुधबार दिनभरि बैठकमा व्यस्त भएपछि उनले साँझ प्रविधिमा लैङ्गिक समानताबारे छलफल गरेकी थिइन् । उक्त कार्यक्रममा बोल्दै फिनल्यान्डकी प्रधानमन्त्री मरिनले प्रविधिको पहुँच सबैमा हुनुपर्नेमा जोड दिइन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार