खाली रहेका मन्त्रालयमा मन्त्रीहरु थप्ने अन्तिम तयारी : सूचीबाट जनार्दन आउट पंफा इन   

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असाेज २१, बुधबार  
खाली रहेका मन्त्रालयमा मन्त्रीहरु थप्ने अन्तिम तयारी : सूचीबाट जनार्दन आउट पंफा इन   

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले खाली रहेका मन्त्रालयहरुमा नयाँ मन्त्री थप्ने अन्तिम तयारी गरेका छन् । मन्त्रिपरिषद पुनर्गठनको विषय लामो समयदेखि चर्चामा रहेपनि अन्ततः प्रधानमन्त्री ओली खाली मन्त्रालय भर्ने र कायम रहेका मन्त्रीहरु तत्काल कसैलाई नहटाउने विन्दुमा पुगेका हुन् ।

समाचार दैनिकसँग कुरा गर्दै प्रधानमन्त्री निकट श्रोतले भन्यो, मन्त्रिपरिषद पुनर्गठनका विषयमा स्थायी कमिटी र सचिवालयले सैद्धान्तिक सुझाव पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई दिइसकेको थियो । तर अध्यक्षद्वयले पुनर्गठनको विधि तय गरिसक्नुभएको छैन । त्यो नहुन्जेल अहिले खाली रहेका मन्त्रालयहरुमा मन्त्री बनाउने तयारी प्रधानमन्त्रीको छ ।

खाली तीन मन्त्रालय पुर्ति गर्ने र ती मन्त्रालय सम्हाल्ने व्यक्तिका बारेमा पनि दुई अध्यक्षबीच समझदारी बनेको श्रोतको भनाई छ ।  केही दिन अघि प्रधानमन्त्रीले निकटस्थ सांसदहरु , महेश बस्नेत, विशाल भट्टराई गणेश ठगुन्ना, प्रेम आलेलगायत मध्यबाट मन्त्री बनाउने तयारी गरेका थिए । तर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असहमति पछि रोकिएको उनि निकट नेताहरु बताउछन् ।

त्यसपछि अर्थमन्त्री विष्णु पौडेललाई बनाउन दुवै अध्यक्ष सहमत भएका हुन् । अहिले ३ जना मन्त्री थपिने भएपछि पूर्व एमाले खेमाबाट २ र पूर्व माओवादी खेमाबाट १ जना थप्ने तयारी छ । यसअघि चर्चामा रहेका नेकपा विवाद समाधान कार्यदलका सदस्य मध्ये नै ३ जना मन्त्री बन्ने लगभग पक्का छ । महासचिव विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का छ ।

यस विषयमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली सहमत छन् ।  शहरी विकास मन्त्रालयमा पूर्व एमाले खेमाकै सुरेन्द्र पाण्डेको चर्चा चलिरहेको छ । तर उनले आफ्नो रुची अर्थमन्त्रालयमा रहेको बताउने गरेका छन् । अहिलेसम्म प्रधानमन्त्रीले मन्त्री बन्ने कि नबन्ने ? वा कुनमन्त्री बन्ने भन्ने विषयमा प्रधानमन्त्रीले कुनै छलफल नभएको बताउने गरेका छन् ।

पाण्डेले अस्वीकार गरेमा प्रधानमन्त्री ओलीले यसअघि तयारी गरेका मध्यबाट एक जनालाई शहरी विकास वा संचार मन्त्री बनाउने छन् । पूर्व माओवादी खेमाबाट भने यसअघि सर्वाधिक चर्चामा रहेका जनार्दन शर्मा सूचीबाट हटेका छन् । आफूले चाहेको मन्त्रालय नपाउने भएपछि नेता शर्माले आफू संचार वा शहरी विकास मन्त्रालयमा नजाने बताएको खुमल्टार श्रोतले बतायो ।

अध्यक्ष प्रचण्डसँगको छलफलमा नेता शर्माले त्यसो भनेपछि प्रचण्डले ‘त्यासे भए तपाई नजानुस पंफाजी जानुहुन्छ’ भन्ने जवाफ दिएका थिए । अध्यक्ष प्रचण्डको उक्त भनाईले शहरी विकास वा संचार मध्य एउटा मन्त्रालयमा पूर्व माओवादी खेमाबाट भुसाल मन्त्री बन्ने तय भएको हो ।

भुषालपनि पार्टी भित्रको विवाद समाधान कार्यदलको सदस्य थिईन् । उनि यसअघि पनि सामान्य प्रशासन मन्त्री बनिसकेकी छन् ।  हाल मन्त्रिपरिषदमा प्रधानमन्त्री, १८ मन्त्री र ३ राज्यमन्त्रीसहित २२ सदस्य छन् । खाली रहेका मन्त्रालयमा तीन मन्त्री नियुक्त भएमा संविधानले भने अनुसार २५ सदस्यीय मन्त्रिपरिषद बन्नेछ । संविधानमा प्रधानमन्त्रीसहित बढिमा २५ सदस्यीय क्याविनेट बनाउन मिल्ने प्रावधान छ । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार