बेलायतबाटै कुल आचार्यले गरे  एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज ८, बुधबार  
बेलायतबाटै कुल आचार्यले गरे  एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनको वर्तमान अध्यक्ष समेत रहेका आचार्यले नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

विश्व सम्मेलनको पूर्वसन्ध्यामा पुगेर विभिन्न मुलुकबाट राय सल्लाह  सुझाव लिएपछि आफुले अध्यक्ष पदको दाबवेदारी गर्दै पुनः उम्मेदवारको घोषणा गरेको आचार्यले बताएका छन् । उनले संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसँग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी भित्र्याउन ठोस कार्ययोजनासहित अघि बढाउने बताएका छन् ।

वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई वर्षभित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तीमा दोब्बर पुर्याउने दाबी गरेका छन् । उनले एनआरएनए सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सञ्जाल बनाई उनीहरुसँग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने प्रतिबद्धता  व्यक्त गरेका छन् ।

संघका पूर्वअध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसिसीद्वारा पारित ‘भिजन २०२० एन्ड वियोन्ड’ अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिवद्धता समेत आचार्यले व्यक्त गरेका छन्। आगामी वर्षमा एनआरएनएको सदस्य संख्या १ लाख पुर्याउने आफ्नो अभियान रहेको बताएका छन् ।

‘विदेशमा हुर्किरहेका दोश्रो पुस्तालाई नेपाल र नेपाली भाषा, सभ्यता, र संस्कृतिसँग जोड्नुमा आफ्नो उच्च प्राथमिकता हुने धारणा व्यक्त गरेका छन् । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवर्द्धनसम्बधी कार्यक्रम बनाउन र पर्यटक भित्र्याउन सबै एनसिसीहरुलाई प्रोत्साहित गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले बेलायतबाटै उम्मेदवारी घोषणा गरेका हुन् । अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा नयाँ  नेतृत्वको लागि निर्वाचन हुनेछ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर