असोज १ गतेदेखि आन्तरिक हवाइ उडान र होटल, रेष्टुरेन्टहरु खुला हुने

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार  
असोज १ गतेदेखि आन्तरिक हवाइ उडान र होटल, रेष्टुरेन्टहरु खुला हुने

काठमाडौँ । सरकारले आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु असोज १ गतेबाट  सञ्चालन गर्ने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।

विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ । हवाई उडान खोल्नेबारे मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा नियामक निकाय र सेवा प्रदायक कम्पनीबीच छलफल भएको थियो । छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले ५० प्रतिशत प्रावधानबारे कुनै पनि जानकारी सेवा प्रदायकलाई दिएनन् ।

सेवा प्रदायकहरुले शुरु देखि नै ५० प्रतिशत यात्रु राखेर जहाज उडाउन सम्भव नभएको बताउँदै आएको बुद्ध एयरका निर्देशक तथा वायुसेवा संचालक संघका सदस्य रुपेश श्रेष्ठले बताए ।
एयरलाइन्सहरु स्वास्थ्य सुरक्षाका प्रावधान लागू गर्ने शर्तमा तयार छन् । तर, सबैभन्दा लामो दूरी काठमाडौंबाट धनगढी रहेको र यो यात्रा अधिकतम १ घण्टाको मात्र हुने हुनाले एयरलाइन्सबाट कोभिड संक्रमण फैलन सम्भावना कम हुने तर्क समेत एयरलाइन्स कम्पनी गर्छन् ।

वायुसेवा सञ्चालकहरुका अनुसार हवाईजहाज उडान सूचारु गर्नु अगाडि कम्तिमा ७ दिनको समय अग्रिम जानकारी गराउनुपर्छ । सोही अनुसार उनीहरुले आफ्ना यात्रुलाई उडानबारे जानकारी गराउन सक्छन् । अर्कोतर्फ अझै पनि सरकारले गन्तब्य तय गरिसकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स कम्पनीको उडान तालिका स्वीकृत गर्नुपर्छ । त्यसका लागि विमानस्थलमा स्लटको व्यवस्थापन गर्नुपर्छ । त्यो काम गर्न प्राधिकरणसँग समेत समय छैन ।

यस अवस्थामा यो निर्णय केवल घोषणामा मात्र सिमित हुने देखिएको नियामक निकाय र सेवा प्रदायक दुबैको निष्कर्ष छ ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार