कक्षा ११ भर्नामा एसइई नतिजामाथि अविश्वासः कक्षा ८ र ९ को पनि नतिजा मागियो

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै २४, बुधबार  
कक्षा ११ भर्नामा एसइई नतिजामाथि अविश्वासः कक्षा ८ र ९ को पनि नतिजा मागियो

काठमाडौं । एसइईको नतिजा प्रकाशनसँगै उपत्यकाका कक्षा ११ र १२ सञ्चालन गर्ने माध्यमिक विद्यालय (अझै कलेज भन्ने गरिएको) ले कक्षा ११ मा नयाँ विद्यार्थी धमाधम भर्ना लिइरहेका छन् ।

गत वर्षसम्म एसइईको नतिजाका आधारमा कक्षा ११ मा भर्ना हुने गरेको थियो । तर यस वर्ष उपत्यकाका कलेहरूले एसइईको नतिजामाथि विश्वास गर्न सकेका छैनन् । त्यही भएर विद्यार्थीसँग कक्षा ८ र ९ को समेत नतिजा मागेका छन् । कतिपय कलेजले विद्यार्थी भर्नाका लागि कक्षा १० सँगै ८ र ९ को नतिजा मागेका छन्।

कतिपय कलेजले छात्रावृत्ति उपलब्ध गराउन भन्दै तल्लो कक्षाको नतिजा मागेको बताउने गरेका छन् । जुनसुकै बहानामा तल्लो कक्षाको नतिजा मागिए पनि मुख्य कारण भने यसपालिको एसइई नतिजामा विश्वास गर्न नसक्नु नै हो । केही कलेजले कक्षा ८ र ९ को नतिजा नमागेर कक्षा १० कै पाठ्यक्रममा आधारित भएर विद्यार्थीसँग पुनः लिखित परीक्षासहित अन्तर्वार्ता लिइरहेका छन्। यसअघिको भर्नामा यस्तो कहिल्यै गरिएको थिएन ।

माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले यस वर्ष विद्यार्थीसँग कक्षा ११ मा भर्ना हुन कक्षा ८ र ९ को नतिजासमेत मागेको छ । स्कुलको वेबसाइटमै विद्यार्थीले आफ्नो एसइईको नतिजासाथै कक्षा ८ र ९को नतिजासमेत अपलोड गर्न निर्देशन दिइएको छ । लगनखेलस्थित अक्सब्रिज कलेजले भने कक्षा ११ मा छात्रावृत्ति दिने भन्दै कक्षा ८ को नतिजा मागेको छ ।

ललितपुरस्थित मानभवनस्थित प्रसादी कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीसँग कक्षा १० कै पाठ्यक्रममा आधारित रहेर अनलाइनबाटै लिखित परीक्षा र अन्तर्वार्ता लिइरहेको छ । गोल्डेनगेट कलेजले अनलाइन प्रवेश परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित भएर लिइरहेको छ। कालोपुलस्थित जेभियरले अनलाइन फाराम संकलन गरेर अनलाइनबाटै प्रवेश परीक्षा लिने तयारी गरेको छ। 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार