images
images

जनकपुरधाममा २१ जोडी वरवधुको निःशुल्क विवाह

जनकपुरधाम- विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधुको निःशुल्क विवाह गराएको छ।

परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा सामुहिक विवाहको कार्यक्रम आयोजना गरिएको हो।

भगवान श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामुहिक निःशुल्क विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ। सामुहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभविवाहको आयोजना गरेको परिषद्ले जनाएको छ।

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोते सहितका आवश्यक पर्ने सबै सामग्रीहरू परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको छ।

विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउनका लागि निःशुल्क विवाहका लागि गरिव तथा विपन्न वर्गका बेहुला बेहुलीको छनोट गर्ने काम भएको छ। विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन परिषद्ले नै गरेको थियो।

यसैबीच जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको श्री सीताराम स्वयम्बरको विश्वकै ठूलो आकृति बनाएका भारतको उत्तरप्रदेशका कलाकार सतीश गुर्जर पनि सोही सामुहिक विवाह कार्यक्रममा स्वयम्वर गरेका छन्। जानकी मन्दिरमा भइरहेको सामूहिक विवाह समारोहमै उनले उत्तर प्रदेशकी यज्ञनी गुर्जरसँग स्वयम्वर गरेका हुन्।

विगत केही वर्षदेखि विश्व हिन्दु परिषद्ले सामुहिक विवाहको आयोजना गर्दै आएको छ। यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै अर्थका कारणले विवाह हुन नसकेकाहरूलाई राहत मिल्ने गरेको विवाहमा आएका बेहुली पक्षका आफन्तहरुले जनाएका छन्।

विवाह गरेकाहरूको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएका थिए।