images
images

गजुरी सैन्य हिरासत ब्रेकको त्यो क्षण : सेनाको काँधमा रहेको बन्दुक उसको घाँटी समातेर खोस्यौं। अनि………!

२०६० साल कात्तिक अन्तिम साता नेपाली भूमिमा वर्गसङ्घर्षको आँधीबेहरी चल्दै थियो। पार्टीका सबै तह र तप्काका नेता-कार्यकर्ताहरू आ-आफ्नो जिम्मेवारी पूरा गर्नमा तल्लीन थिए। जनमुक्ति सेनाका राता सिपाईहरू शाही फौजी योजनालाई कसरी ध्वस्त पार्ने र ऊ विरुद्ध कसरी धावा बोल्ने भन्नेमा सबै डिभिजन र टुकडीहरू आ-आफ्नो मिसनमा एकाग्रताका साथ योजना बुनिरहेका थिए । म पनि पार्टीको योजनामा आफ्नो जिम्वेवारी सम्हाल्दै थिएँ। पोखरामा मेरो कार्यक्षेत्र थियो । त्यतिबेलाको प्रतिकुल वातावरणको बावजुद म आफ्नो योजनामा एकपछि अर्को सफलता प्राप्त गर्दै अघि बढीरहें। पार्टीले दिएको हरेक जीम्मेवारी पुरागरि छाड्ने मेरो एक मात्र ध्यय हुन्थ्यो । वटालीयन सह-कमान्डरको रूपमा मैले आफ्नो जिम्वेवारी दृढतापूर्वक जनता र राष्ट्र‌को लागि अगाडि बढाइरहेको थिएँ। गाउँमा दुश्मनहरूको किल्ला ध्वस्त पार्दै सदरमुकाम र सैनिक क्याम्पहरू माथि धावा बोल्दै एकपछि अर्को मोर्चाहरूमा विजयी हाँसिल गर्ने योजनामा जनमुक्ति सेनाका योद्धाहरू नियमित रूपमा जुटिरहेका थिए ।

हामी अन्य साथीहरूका साथ शहरमा क्याम्प बनाएर बसेका दुश्मनलाई लुकिछिपी छापामार कारवाही गर्ने र शहरमा हाम्रो उपस्थिति खरो बनाउँदै विकेन्द्रित कमान्डो कारवाही गर्ने एसटिएल समूह निर्माण गरी विभिन्न भेषभूषा र कार्यशैलीमा लुकिछिपी दुश्मनहरूलाई धक्का दिन शहरिया गुरिल्लाहरू गठन गरी खटीएका थियौं। म त्यसवेला पोखरामा शाही फौजमाथि लुकिछिपी खेल्दै वैरीहरूमाथि धावा बोल्दै थिएँ । त्यो स्थितिमा पोखरामा पार्टीको काम गर्नु लगभग आत्मघाती जस्तो थियो। तै पनि देश र जनताको हितको लागि पार्टीले दिएको जिम्मेवारी गर्वका साथ निर्वाह गरिरहेको थिएँ। पोखराका काम गर्नु ठूलो चुनौति थियो । जुनसुकै वेला दुश्मनको पन्जामा परिने सम्भावना रहन्थ्यो । योजनामा अगाडि बढ्दै जाँदा २०६० साल कात्तिकको १८ गते पोखराको चिप्लेढुङ्गाबाट म लगायत अन्य पाँच जना साथीहरूलाई सेनाले गिरफ्तार गर्यो। त्यतिबेला सेनाको पञ्जामा पर्नु भनेको मृत्यु बराबर हुन्थ्यो । उसले दिने यताना भन्दा देश र जनताको लागि मृत्यु लाखौं गुणा प्यारो हुन्थ्यो, तर मैले त्यो अवसर प्राप्त गरिन । सेनाले कब्जामा लिइसकेपछि करिब दश महिना हामीलाई पोखराकै फुलवारी ब्यारेकमा चरम यातना दिएर राख्यो । त्यो यातनाको क्षण म यहाँ वर्णन गर्न सक्दिन । त्यसपछि २०६१ साल भाद २ गते म लगायत अन्य साथीलाई वेपत्ता बनाउने उद्देश्यले सेनाले हेलिकाप्टरबाट धादिङ्गको गजुरी व्यारेकमा लग्यो । हामीलाई कहाँ राखिएको छ भन्नेबारे हामीले कुनै सूचना पाउन सकेका थिएनौ । सेनाले खासमा हामीलाई वेपत्ता पारेर मार्न चाहेको थियो । गजुरी ब्यारेकमा राख्दा मैले नै पहल गरे काठमाडौंमा रहनु भएका आफन्तलाई जानकारी गराएको थिएँ। त्यसका लागि मलाई सेना भित्रका एक कर्मचारीले सहयोग गरेका थिए । त्यसपछि विभिन्न मानव अधिकारवादी हाम्रो अवस्था बारे बुझ्न आँउदा हामीलाई सेनाले अन्तै लगेर राख्थ्यो। उनीहरूलाई सेनाले ती मानिसहरू हामीले ल्याएकै छैनौ भन्ने पार्न सेना सफल भइरयो । त्यसको मतलव हुन्थ्यो, सेनाले हामीबाट सकेसम्म पार्टीको योजना पत्ता लगाउने र अन्त्यमा वेपत्ता पार्ने । सेनाको त्यो योजना हामीलाई थाहा नहुने कुरै भएन ।

अब हामीसँग एकमात्र विकल्प जसरी हुन्छ हिरासत तोड्ने योजना बनाउनु हुन्थ्यो । हामी सबै साथीहरूलाई सँगै राखिएको थियो । हामीलाई हत्कडी लगाए‌को थियो। यस अघि पनि हामीले सैनिक हिरासत ब्रेक गर्ने योजना बनाएका थियौं। मेरै योजनामा बनाइए‌को त्यो पहिलो प्रयास भने सफल हुन सकेन । हामी उपयुक्त समयको प्रतिक्षामा थियौं, समय मिलिरहेको थिएन। हामी बन्दीहरूको व्यवहारले हाम्रा लागि खटिएका सेनाहरू हामीहरूप्रति पूर्ण विस्वस्त भइसकेका थिए। उनीहरूले हामी घेरा तोडेर भाग्लान् भन्ने कल्पनासम्म पनि गरेका थिएनन् । अन्तत २०६१ साल कार्तिक २९ गते भाइ टीकाको दिन हाम्रो लागि अनुकुल बन्न पुग्यो। हामीले त्यो दिन गजुरी जेल ब्रेक गर्न सफल भयौं । हाम्रो सुरक्षामा खटिएका सेनालाई क्यान्टिनमा सामान किन्न पठाइयो । हामीले आवश्यक भन्दा धेरै पैसा दिएकाले उसले उतै रक्सी खान थालेछ। त्यही मौकामा हामीले भित्र आफूलाई लगाइएको नेल खोली सकेका थियौं । त्यसलाई सानो धागोले मात्र अड्काइएको थियो। त्यहाँ खटिएको गार्डलाई ट्वाइलेट जाने निउ पारेर पालैपालो ट्वाइलेट गयौं। क्यान्टिन गएको सेनाले हतियार छोडेर गएको थियो । अर्को सेनाले हतियार काँधमा भिरेको थियो। ट्वाइलेटबाट विस्तारै फर्केर मैले सेनाको काँधमा रहेको बन्दुक उसको घाँटी समातेर खोस्या। अर्को साथीले कठालो समातेर उसलाई लडायो र उसले हतियार आफ्‌नो कब्जामा लियो । त्यसपछि त्यो सेनालाई समेत कब्जामा लिएर हामी त्यहाँबाट भाग्यौं । तीन ओटा सलएलआर हतियार सहित हामी ब्यारेकको घेरा तोड्न लाग्यौं। रोड क्रस गरेपछि हामी साथिहरू विकेन्द्रित भयौं र पछि लामो दुरी हिँडेर चितवन जिल्ला पार्टीको सम्पर्कमा पुग्यौं ।
ती दिनहरू सम्कँदा म निकै आन्नदित हुन्छु । मेरो मनमा कहिल्यै पनि नमेटिएने छाप भएर त्यो घटना रहेको छ। विगतलाई सम्झदा मेरो मन ज्यादै भावविहोर भएर आउँछ, साहस बनेर आउँछ। तर सबैको जस्तै मेरो पनि पार्टीप्रति धेरै गुनासो छ । मौका मिल्दा ती गुनासाहरू पोख्ने नै छु नेताहरूले बाटो बिराएका हुन् कि भन्ने मेरो मनलाई लागेको छ ।

(जनयुद्धका गजुरी जेल ब्रेकर कृष्ण पन्त (सेवक)संग सागर पन्तले गर्नुभएको कुराकानीमा आधारित)
प्रकाशित : २०७१ साल